Skip to main content

रारा राष्ट्रिय निकुञ्जको जीवन्त यात्रा: स्वच्छन्दताको खोजीमा

प्रसङ्ग नेपालको! नेपाल—एक अद्भुत, अनन्त बगैंचा—जसको अन्त्य न समयले पाउँछ, न यात्रुको पाइला थाक्छ। यति विशाल, यति रहस्यमयी, कि आदि कालखण्डका यात्रुहरूले पनि यसको सम्पूर्ण सौन्दर्य देख्न सक्दैनन्। प्रत्येक मोडमा, प्रत्येक कुना-कन्दरामा, प्रकृतिले आफ्नो चमत्कारहरू सजाएकाे छ।

यस्तै एक स्वर्गीय सौन्दर्य हो—रारा ताल। निलो आकाशले निहारिरहेको, पहाडले अंकमाल गरेको, र मनले कहिल्यै बिर्सन नसक्ने विशाल जलकुन्ड, जसले आत्मालाई बोलाउँछ—शान्तिको गहिराइमा डुब्न।


हरेक वर्ष म एउटा वा दुइटा ट्रेकिङ गर्छु। हाइकिङ भने महीनामा दुई ओटा गर्छु। नेपालको सौन्दर्यलाई साँच्चै कदर गर्ने हो भने, पैदल यात्रा नै उत्तम माध्यम हो। त्यो अनुभव यति गहिरो हुन्छ कि शब्दले बयान गर्न कठिन पर्छ।

तर २०८१ साललाई विदाई गर्न यो पटक पैदल यात्रा होइन, A Road Trip to Rara National Park को योजना बन्यो। आखिर, सबै कुरा अनुभव नै त हो—हरेक यात्रा, हरेक मोड केही न केही सिकाइ लिएर आउँछ।

रारा ताल जति स्वर्गीय छ, त्यहाँ पुग्न भने त्यति सहज छैन। यात्राको चौथो दिनमा मात्र हामीले त्यो अनुपम सौन्दर्य आफ्नै आँखाले अवलोकन गर्ने सौभाग्य प्राप्त गर्‍यौं।

म कसरी यो 'एक पटकको जीवन्त यात्रा' मा समावेश भएँ भन्ने कुरा पनि रोचक छ। यात्रा सुरू हुन केही दिन अघि साँझपखको समय थियो, म बाटोमा हिँड्दै थिएँ। त्यतिबेला मेरो परको छिमेकी, जसलाई म ठुलोबुबा भनेर सम्बोधन गर्छु, उहाँसँग भेट भयो। उहाँले भन्नुभयो—"म रारा तालतिर अर्को समूहसँग जाने तयारीमा छु।"

मैले सहजै जवाफ दिएँ, "जानुहोस् नि ठुलोबुबा, स्वर्गीय आनन्द लिनुहोस्। मेरो त समय मिलाउन अलि गाह्रो हुन्छ।"

बोल्दै जाँदा मैले थपें—"नयाँ वर्ष २०८२ को पहिलो दिन चाँही हामी सँगै कतै हाइकमा जानु पर्छ भने।" उहाँ पनि मुस्कुराउँदै भन्नुभयो—"हुन्छ नि, यो चोटी सँगै जानु पर्छ।"

केही दिनपछि फेरि उहाँसँग भेट भयो। यसपटक भने उहाँले भन्नुभयो, "हामीले योजना बनाएको समूहको यात्रा त क्यान्सिल भयो। अब चाँही हामी आफैं जाने सोचेका छौं। तिमी पनि आउने हो?" उहाँको प्रस्ताव सुनेर मभित्र उत्साह उम्लियो। तर मैले सावधानीपूर्वक भने, "भोलि मात्र पक्का गर्छु है।" यसरी भोलिपल्टको दिन मैले पनि “म पनि आउँछु” भनेर पक्का गरेँ।

यात्रामा अरू पनि सहभागी थिए—सबै जना मेरा अग्रज, समाजमा आ-आफ्नै ख्याती र पहिचान बनाइसकेका व्यक्तित्वहरू। मचाहिँ उमेरले सानो थिएँ। सायद त्यसैले होला, यो यात्राबाट म केही फरक, केही विशेष अनुभव पाउँछु भन्ने एक विश्वास मेरो मनभित्र पलाएको थियो।

पहिलाे दिन 

बिहानको ३:४५ बजेको थियो, ठुलोबुबाको फोन आयो—"तयार हो नि?" म त अझै निद्रामा थिएँ, तर त्यो एक फोनले आँखा खुल्यो। निद्राको घुम्टोमै मैले सबै तयारी पूरा गरेँ। ५:०० बजेतिर अर्को ठुलो बुबा मेरो घरको ढोका अगाडि आएर घण्टी बजाउँदै बोलाउनुभयो। म पनि हत्तारिँदै आफ्नो ब्याकप्याक बोकेर घरमा सबै लाई जान्छु भान्दै निस्किएँ। यसरी हामी ७ जना, उत्साह र कौतुहलता बोकेर, रारा राष्ट्रिय निकुञ्जतर्फको यात्रामा लाग्यौं।


यात्रा सुरु भयो पृथ्वी राजमार्ग हुँदै, मुग्लिन–नारायणगढको ओरालो झर्दै। चितवन छिर्दा गर्मीको आभास अझै चर्को भयो। गाडीभित्र एसी खोल्नै पर्‍यो।

बिहानको खानाको लागि हामी महेन्द्र राजमार्ग हुँदै कावासोती पुग्यौं। त्यहाँ नेवारी स्वादले भरिएको खाना खाइयो—ती मसला र स्वादले झन् यात्रा रोमाञ्चक बनायो। खानापछि हामी बुटवलतिर अघि बढ्यौं।

तर त्यसपछि, यात्रा अलिक अप्ठ्यारो बन्यो—दाउन्ने पहाडको राजमार्गमा गाडीहरूको लामो जाममा पर्यौं।

धेरै समय गाडीभित्रै बित्यो। एकै ठाउँ रोकिएपछि, थकाइले सबैलाई समायो—एकप्रकारको निद्रा, एकै लयमा सबैले त्यही गाडीभित्रै पाएका थियौं।

यसरी हामीले पहिलो दिनको यात्रा टुङ्ग्यायौं—रामनगरको एउटा होटलमा गएर विश्राम लियौँ।


दोस्रो दिन 
एका बिहानै उठेर बिहानको सबै काम सकेपछि हामी महेन्द्र राजमार्ग हुँदै कोहलपुरबाट सुर्खेततिर लाग्यौं। गर्मी मौसमको कारण ठाउँठाउँका जंगलमा आगलागी भएको देखिन्थ्यो, जसले वातावरणलाई अझै बिघ्न उदास बनाएको थियो।



यसरी एकपछि अर्को राजमार्ग पार गर्दै हामी रत्न राजमार्गमा प्रवेश गर्यौं। बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोस्टमा एउटा अनौठो तर मन छुने दृश्य देख्यौं—बाँदरहरूले गाडीमा राखेर ल्याएको गोलभेंडा चोरेर खाइरहेका थिए। सायद जंगलमा खानेकुरा कम भएर होला, तिनीहरू राजमार्ग छेउछाउमा देखिन्थे। यो दृश्यले जंगल, जनावर र मानिसबीचको सम्बन्धबारे सोच्न बाध्य बनायो। 
त्यसपछि हामी फेरि पहाडी बाटो हुँदै अघि बढ्यौं। एउटा खुला स्थानमा पुगेपछि propane ग्यासको सहयोगमा चिया बनाएर खायौं। चिया बन्दै गर्दा मैले घरमा फोन गरेँ र भनेँ, "बुबा, उठ्नु भयो?" उहाँले भन्नुभयो, "अहँ, छैन। तिम्रो आमा चाहिँ उठिसकिन्, म पनि अब उठ्छु।"
यसरी केही समय बुबासँग कुरा गरेँ। तातो पानीमा कफी मिसाउँदै बिस्कुटसँग पेट भर्यौँ। त्यसपछि गाडीको यात्रा फेरि सुरु भयो, र हामी उकालो ओरालो बाटो हुँदै अगाडि बढ्यौं। त्यसपछि हामी फेरि पहाडी बाटो हुँदै अघि बढ्यौं। उकालो बाटोको एउटा मोडमा मलाई दुई वर्षअगाडि शे फोक्सुण्डो ट्रेक जाँदा स्कूलको एक साथीसँग भएको कुराकानी सम्झना आयो।
त्यो बेला साथीले यही बाटोमा भनेका थिए, “वैवाहिक जीवनमा प्रवेश गरेपछि जीवनमा धेरै कुरा compromise गर्नु पर्छ।” सायद उसले आफूले भोगेको अनुभूति नै पोखिरहेका थिए। उ त्यसबेला आफ्नो श्रीमती र छोरीसँग समय compromise गरेर घुम्न निस्किएका थिए। उ बोलेकाे ती शब्दहरू आज फेरि त्यही बाटोमा गुञ्जिएको झैँ लाग्यो—शान्त पहाडबीचको गहिरो सत्य।
यसरी फेरि मेरा अग्रज हरु का देश विदेश यात्राको अनुभव र अरू कुरा शेयर गर्दै बबई नदी आइपुग्यौं र त्यै खाना खाने निधो गर्यौ। म घरमा दाई सँग फोनमा कुरा गर्दागर्दै मेरो खाना त चिसो भइसकेको थियो। भोक लाई मिठो मान्दै मैंले पनि खाना खाएँ। खाना पछि भने हामी सुर्खेत तिर लाग्यौं। 
सुर्खेतको वीरेन्द्रनगर पुगेपछि भने हामी केही समय दोधारमा पर्‍यौं—कुन बाटो जाने भन्ने सोच्दै। अन्ततः हामी सिधै कर्णाली राजमार्ग हुँदै दैलेखतिर लाग्यौं। त्यो राजमार्ग सबैका लागि पहिलो अनुभव थियो।
यसरी पश्चिम नेपालको कुना–कन्दरा आँखाले नियाल्दै, हामी पहाडी बाटो हुँदै एउटा पुलमा आइपुग्यौं—त्यो पुल थियो तल्लो थुङ्गेश्वर। त्यहाँ हामी केहीबेर गाडी रोक्यौं र गाडीमा डिजेल हाल्यौं। त्यहीं नजिकैको पसलमा कर्णाली नदीको बाम माछा बिक्रीका लागि राखिएको थियो, र हामी त्यो माछाको फोटो खिच्न थाल्यौं। त्यो माछा यदि पानीमा देखिएको भए, साँच्चै सर्प नै भन्थ्यौं होला!
त्यसपछि हाम्रो यात्रा फेरि सुरु भयो। पहाडी बाटो कतैकतै कालोपत्रे गरिएको थियो भने कतै कच्ची नै थियो। यात्रा क्रममा केही ठाउँमा गाडी रोकेर हामीसँग भएका खानेकुरा खायौं। गाडी रोक्दा हामी घरमा फोन पनि गथ्र्यौं, ती ठाउँमा पनि 4G नेटवर्क चलिरहेको थियो।
यसरी बेलखेट कर्णाली पुलसम्म आइपुग्दा भने साँझ परिसकेको थियो र हाम्रो त्यो दिनको यात्रा लाई टुङ्ग्याउन हामी राकम कर्णालीमा बस्ने भन्यौँ। 
होटल पुगेपछि हामीले नुहायौँ र ताजगी महसुस गरेपछि चिया पिउँदै केही समय आराम गर्यौँ। त्यसपछि स्वादिलो खाना खाएर सुस्ताउँदै सुत्न गयौँ।


तेस्रो दिन 
बिहान सबेरै उठेर हामी राकम कर्णालीबाट उकालो लाग्यौँ। त्यो राजमार्गलाई कर्णाली करिडोर पनि भनिन्थ्यो। तल कर्णाली नदीको फाँटमा मानिसहरू माछा मारिरहेको देखिन्थ्यो—शान्त पानीमा जाल फ्याँक्ने दृश्य मनै लोभ्याउने लाग्थ्यो।
बाटो चढ्दै जाँदा हामी कालिकोटको मान्म पुग्यौँ र गाडिमा तेल (डिजल) भर्यौं। । मान्म भनेको एक विशाल चट्टानमाथि बसाइएको गाउँ रहेछ—त्यहाँका घरहरू ढुंगाका भित्ताहरूमा अडिएर बसेको जस्तो देखिन्थे। बाटो निकै साँघुरो थियो, गाडीको झ्यालबाट तल हेर्दा कहिलेकाहीँ हावा समातेर अडिएको अनुभव हुन्थ्यो। त्यो पहाडको ढिस्कामा बाटो बनाइएको दृश्य साँच्चै साहसिक लाग्थ्यो।



एउटा स्थानमा हामीले गाडी रोक्यौँ—चिया र कफीको विश्रामका लागि। हाम्राे propane ग्यासको सहयोगमा हामी आफैँले चिया बनाउन थाल्यौँ। म भने घरमा फोन गरेर भनें, 'हामी अहिले कालिकोटको मान्म आइपुगेका छौँ।' त्यसपछि चियाको कप हातमा लिएर वरिपरिका हिमाली भूगोलको सौन्दर्य निहाल्दै बसेँ—हरेक डाँडापाखा, बादलको छायाँ र हावा, सबैले यात्रालाई थप अर्थपूर्ण बनाइरहेका थिए।
चियाको विश्राम सकेपछि हामी फेरि गाडी चढ्यौँ र कालिकोटको बाटो हुँदै हिमाली क्षेत्रमा प्रवेश गर्न थाल्यौँ—जहाँ प्रकृति अझ कडा, अझ शुद्ध र अझ सजीव लाग्थ्यो। यसरी केही घण्टाको यात्रा पछि, करिब ११:३० बजेतिर हामी नाग्म बजार पुग्यौँ। बिहानको खाना त्यहीँ खाने निर्णय गर्यौँ। खाना तयार हुँदै गर्दा म भने नाग्मस्थित तिला–हिमा दोभान नजिक फोटो खिच्न खोलाको किनारमा गएँ। त्यो दोभनले कालिकोट र जुम्लालाई छुट्याइएको रहेछ। पानी अत्यन्तै चिसो थियो, त्यसैले केवल मुख मात्रै धोएँ।
केही बेरको घुमफिरपछि म पनि फर्केर खाना खान गएँ। स्वादिलो मार्सी चामलको भातसँगै कर्णाली नदीमा समातिएको ताजै माछा खाँदै हामीले थकान बिर्सियौँ। केही पर पुग्दा सेता हिमालहरू टाढाबाट झलमल देखिन थाले र यात्रा अझ रोमाञ्चक बन्दै गयो। नागो जस्तो मोडिएका पहाडहरूमा उभिएका धुपीका रुखहरू आइसक्रिमको कोन जस्तै देखिन्थे, बालापनको कल्पना जस्तै रमाइला।
स्याउका रुखहरूमा ढकमक्क फुलेका सेता फूलहरूले हाम्रो मन लोभ्याए। त्यो दृश्य हेरेर मनभित्रै बोलें—'जुम्लाको स्याउ यस्तो स्वच्छ पहाडमा फल्ने रहेछ!' त्यसै क्रममा हामी एउटा चेकपोष्टमा आइपुग्यौँ र त्यहाँ टिपोट गर्यौँ। त्यो ठाउँ खुला पाटन थियो, जहाँ चिसो हावा बेगले चलिरहेको थियो। त्यहाँका मानिसको गोरो अनुहार पनि चिसोका कारण अलि कालो देखिन्थ्यो। त्यो वातावरण हामीलाई नौलो संसार जस्तै लाग्यो। त्यसपछि हामी पर देखिएको ठूलो खुला ठाउँतिर गयौँ, केही तस्बिरहरू लिन। म त झन् त्यहाँ छोडिएका पुराना खोडाहरूको नजिक पुगेँ र हतारमा केही तस्बिर लिएँ। अनि गाडी रोकेको स्थानमा फर्किएर पानी खाएँ।
यसरी सबैले त्यो पाटन क्षेत्रको मज्जा लिएपछि हामी फेरि यात्रा अगाडि बढायौँ। करिब तीन–चार घण्टाको यात्रा पश्चात् हामी रारा राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारमा पुग्यौँ। अहिले त्यहाँसम्म कच्ची सडक बनेको रहेछ, जसले गर्दा अब यात्रुलाई पैदल हिँड्न नपर्ने भएछ—सिधै रारा तालको नजिकसम्म गाडी पुग्न मिल्ने। तर मलाई भने पैदल यात्रा मन पर्ने भएकाले त्यो कुरा अलिक अनौठो लाग्यो।
हामी होटलमा पुगेर सामान राख्यौँ, मुख-सुख धोएर तातो पानी पियौँ—थकान मेट्न र नयाँ साँझलाई स्वागत गर्न। हामी सबै डाइनिङ रूममा बसेर भलो–कुसारी गर्न थाल्यौँ। दिनभरको यात्राका विविध अनुभवहरू साटासाट हुँदै थिए, कसैले बाटोको डर सुनायो त कसैले पहाडको सुन्दरता। यसैक्रममा खाना पनि पाकिसकेको रहेछ, र हामी खाना खान बस्यौँ। स्वादिलो खाना खाइसकेपछि भने धेरै बेर गफ नगरी हामी आ–आफ्नो कोठामा फर्कियौँ। त्यो दिनको लामो यात्राले थकित शरीरलाई आराम दिन हामी चुपचाप आफ्नो ओछ्यानमा पल्टियौँ—शान्त रात, गहिरो निद्रा।


चौथो दिन 
मनमा एक प्रकारको हर्ष र उल्लास लिएर हामी बिहान सबेरै उठ्यौँ। आफुलाई चाहिने सबै सामानहरू ब्याकप्याकमा राख्यौँ। बिहानको तातो चिया खाइसकेपछि हामी रारा राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारमा पुग्यौँ, टिकट लियौँ, अनि त्यो दिनको पैदल यात्रा सुरु गर्यौँ।
रारा तालको अनुपम दृश्य नजिकबाट हेर्न करिब ४५ मिनेटदेखि १ घण्टासम्मको पैदल यात्रा लाग्ने रहेछ। साथीहरू हतारिँदै अगाडि बढे तर म र ठूलो बुबा भने पछि पर्‍यौँ। हामीले बाटोको बाक्लो बनस्पति, र सुगन्धित हावा लिँदै गर्दै यात्रा अघि बढायौँ।
अर्को एउटा खुला पाटनमा प्रवेश गरेपछि त यात्रा झन् बढी उत्कृष्ट बन्यो। मैले बेला बेलामा ठूलो बुबालाई सोध्थेँ—'शरीर त ठीक छ?' अनि पानी खान आग्रह पनि गर्थेँ। किनभने हामी लगभग २,९०० मिटर भन्दा माथिको उचाइमा थियौँ, जहाँ लेक लाग्ने सम्भावना धेरै हुन्छ। त्यस्तो अवस्थामा हाम्रो मस्तिष्कलाई पुनः हाइड्रेट गर्न आवश्यक हुन्छ। उहाँ भने मुस्कुराउँदै भन्नुहुन्थ्यो—'अहँ, अहिलेसम्म त कुनै समस्या छैन।’
हामी बिस्तारै जंगल हुँदै हिँड्दै गयौँ। त्यो बाक्लो धुपीका रुखहरूले हाम्रो मन र आँखालाई लोभ्याए। यस्तो अनुभव त सहरमा कहाँ पाइन्छ र! मनमा लाग्यो—'यस जंगलको रूप त झनै अद्भुत होला, जब बर्खाको मौसम आउँछ।’ खुल्दुली हुँदै गयो। मनमनै सोचें—'यदि मलाई त्यही मौसममा यहाँ फोटो खिच्ने मौका मिल्यो भने, म त मिलियन डलरका तस्बिर लिएर फर्किन्थेँ!' 



म रुखका हाँगाहरू र लडेका रूखहरूमा लागेको सुक्खा कुसप्रति गहिरो आकर्षण महसुस गरिरहेथें। जब जंगल कुहिरो वा हिउँले ढाकिएको जस्तो देखिन्थ्यो, त्यो दृश्य झनै नाटकीय लाग्थ्यो भन्ने सोचले मन भरिँदै गयो, र हामी बिस्तारै अघि बढ्यौं।
करीब एक घण्टा पैदल यात्रा गरेपछि, हामीले रारा ताललाई आफ्नै आँखाले देख्यौं। स्कूलमा 'नेपालको सबैभन्दा ठूलो ताल' भनेर पढेको यो ताललाई प्रत्यक्ष हेर्न पाउँदा अद्भुत आनन्द मिल्यो। नजिकै जाँदा खुला रूपमा छोडिएका खोडाहरू देखेपछि मैले केही तस्बिरहरू लिएँ। त्यत्तिकैमा ठूलो बुबाको आवाज आयो—'अगाडि नजान!' त्यसपछि हामी तालको किनारमै गएर पहिले आफ्नो मुख धोयौं। रारा तालमा पौडी खेल्न निषेध गरिएको छ, र त्यो नियम सबै यात्रुले पालना गर्नुपर्छ। 
यसरी आफ्नो मन शुद्ध बनाउँदै, हामीले तालको अवलोकन गर्ने र राफ्टिङ गर्ने योजना बनायौं। केही तस्बिरहरू लिएपछि, हामी राफ्टिङ गर्दै रारा तालको आउटलेटसम्म पुग्ने निर्णयमा पुग्यौं। हाम्रा एक साथीलाई टाउको दुखेका कारण उहाँले राफ्टिङ नगर्ने भन्नुभयो, र हामी बाँकी ६ जना भने रारा तालको अर्को कुना तर्फ लाग्यौं। तालको बीचमा पुगेर हेर्दा, ताल अझै विशाल र गहिरो देखिन्थ्यो। वरिपरिका पहाडहरूको प्रतिबिम्ब पानीमा देख्दा लाग्थ्यो—रारा ताल त एक विशाल ऐना जस्तै रहेछ! रारा तालमा मात्र पाइने हिमालयन स्नो ट्राउट माछा भने हामीले देख्न पाउँएनौँ। राफ्टिङका चालकले भनेका थिए कि ती माछाहरू यो समयमा अलिक तातो स्थानतिर पाउँछन्जु , जुन ठाउँ हाम्रो गन्तव्यभन्दा उत्तरतिर पर्छ।
जब म रारा तालको शान्त सतहमा परेका पहाडका प्रतिबिम्बतर्फ हेरेँ, मैले महसुस गरेँ—जिन्दगी पनि त्यस्तै शान्त पानीजस्तै हो। जब मन शान्त हुन्छ, तब मात्र सत्य स्पष्ट देखिन्छ, जसरी तालले वरिपरिको सौन्दर्य देखाउँछ। प्रत्येक प्रतिबिम्बले नयाँ दृष्टिकोण दिन्छ, जसले सम्झाउँछ कि जीवनका अनुभवहरू सधैं सतहमा देखिएजस्तो हुँदैनन्। पहाड र त्यसको छायाँजस्तै, हाम्रो बाहिरी जीवन र भित्री आत्मा एक-अर्कासँग गहिरो रूपमा जोडिएका छन्। र सानो तरंगले प्रतिबिम्ब धमिलो बनाउँछ, त्यसरी नै साना बाधाहरूले हाम्रो स्पष्टता हराउन सक्छ। तर जब हामी भित्रदेखि शान्त हुन्छौं, तब मात्र जीवनलाई सत्य रूपमा देख्न सकिन्छ।
यसरी हामी रारा तालको अर्को कुनामा पुगेपछि अलिक दोधारमा पर्‍यौं—अब हामी मुर्मा पोइन्ट जाने कि जंगलको बाटो हुँदै फर्कने? राफ्टिङमा बस्दा एक यात्रुले भने, “मुर्मा पुग्न त तीन घण्टा लाग्छ।” त्यसपछि हाम्रो मनमा खुलदुली जाग्यो, तर अन्ततः हामी नजाने निर्णयमा पुग्यौं।
मुर्मा पोइन्ट भनेको एउटा यस्तो दृश्यावलोकन स्थान हो, जहाँबाट रारा ताललाई विशाल ऐनाजस्तै देख्न सकिन्छ। त्यस ठाउँबाट हुम्ला, जुम्ला, मुगु र कालिकोट—चारवटा जिल्ला—छरपस्ट रूपमा देखिन्छन्।
हामी ६ जना भने त्यस तालको बाक्लो धुपीको जंगल हुँदै जाने निर्णय गर्यौँ। एउटा सानो पुल तरेर हामी जंगलको बाटो लाग्यौँ। एक ठाउँमा पुगेर हामीले फेरि रारा ताललाई अर्को कोणबाट अवलोकन गर्यौं। त्यसपछि बिस्तारै साँघुरो बाटो हुँदै अगाडि बढ्यौँ। तालको नजिक एउटा ठूलो ढलेको रुख देख्यौँ र त्यस रुखमाथि बसेर केही तस्बिरहरू लियौँ। फेरि हामी जंगलको बाटो हुँदै अघि बढ्यौँ र करिब एक घण्टा घुमफिरपछि पहिल्यैको ठाउँमा फर्कियौँ, जहाँ हाम्रो एकजना साथी हामीलाई पर्खिरहेका थिए। 
अन्ततः हामीले रारा ताललाई विदाई गर्यौँ। तालको एक अन्तिम झलक आँखामा कैद गरेर हामी ओरालो लाग्यौँ। म र ठुलो बुबा भने पछि परेर हिँडिरहेका थियौँ। हामी दुई जनाले भलो–कसरी गर्दै ओरालो यात्रा रमाइलो बनाउँदै थियौँ। ठुलो बुबाले आफ्ना जीवनका विभिन्न अनुभवहरू सुनाउँदै जानु भयो, जसले गर्दा यात्रा अझै अर्थपूर्ण बन्यो। म उहाँका कुराहरू ध्यान दिएर सुन्दै, ज्ञान बटुल्दै साथ दिँदै थिएँ। मैले उहाँलाई भनेँ, "तपाईंको हिँडाइ साँच्चै प्रशंसनीय छ, यो उमेरमा पनि यति फुर्तिलो हुनु ठूलो कुरा हो।"
उहाँ मुस्कुराउँदै भन्नु भयो, "अब त मलाई हिँड्नै मन लाग्छ।"
यसरी हामी एउटा खुला ठाउँमा आइपुग्यौँ। मैले उहाँलाई केही खान आग्रह गरेँ र हामीले एउटा एउटा चकलेट बार पानीसँग खायौँ। त्यसपछि मैले धुपीका केही पात टिपेँ—सोचेँ, घरमा धूपका रूपमा बाल्छु भनेर।
फर्किँदै गर्दा हामी ६ जना स-साना बालबालिकासँग भेट्यौँ। उनीहरू रारा तालमा घुम्न आउने पर्यटकलाई केही खानेकुरा बेच्न आएका रहेछन्। मैले एकजनालाई सोधेँ, "के बोकेर आएको?"
एक जनाले बाबुले जवाफ दियो, "खानेकुरा हो।"
मैले फेरि सोधेँ, "कति पर्छ?"
"३० रुपैयाँ मात्र हो," ऊ मुस्कुराउँदै भन्यो।
मैले भनेँ, "म केही पनि लिन्न। त्यो चाई तालतिरै बेच। मसँग भने चकलेट बारहरु छन्, खाने हो?"
त्यसबेला ती मध्ये एक जनाले भन्यो, "हुन्छ, कस्तो भोक लागेको छ!"
त्यो शब्दले मेरो मन छोयो। त्यसपछि मैले आफ्नो झोलामा भएका सबै चकलेट बारहरु उनीहरूलाई दिएँ र भनेँ, "बाँडेर खानु है!" अनि म अघि बढेँ।
केही समयपछि हामी पनि हाम्रो होटलमा पुग्यौँ। हतारमा खाना खायौँ। खाना पछि हामीले घरमा फोन गर्यौँ र भनेँ, "हामी अब फर्किन लागेका छौँ।" आमाले सोध्नुभयो, "स्वर्गद्वारी पनि जानु पर्छ?" मैले भनेँ, "हेरौं के हुन्छ, उता गयौँ भने फेरि एक दिन लाग्छ।"
रारा राष्ट्रिय निकुञ्जलाई विदाई गर्दै हामी फेरि पहिलेको मोटर बाटो हुँदै फर्कियौँ। करिब ७–८ घण्टाको यात्रा पछि हामी कालिकोटको मान्म पुग्यौँ र त्यस दिनको यात्रालाई त्यहीं टुंग्यायौँ। रात परिसकेको थियो, त्यसैले हामी हतारमा होटल खोजेर बस्यौँ। सरसफाइ सकेपछि चिया पिउन बस्यौँ। त्यहाँको मौसम अलिकति चिसो थियो। राति करिब १० बजे हामीले खाना खायौँ र त्यसपछि सुत्न गयौँ।


पाँचौं दिन 
बिहान ५:३० बजे उठेर, ब्याकप्याक तयार पारेर हामीले मान्मलाई पनि विदाई गर्‍यौं र पहाडको ओरालो बाटो हुँदै यात्रा सुरु गर्‍यौं। यसरी गर्दै हामी बेलखेत कर्णाली पुलमा आइपुग्यौं र फेरि ओरालो लाग्यौं। धेरै नसोची हामी पुष्पलाल लोकमार्गतिर लाग्यौं। सबैले दैलेखमा रहेको पेट्रोल उत्खनन् स्थल अवलोकन गरेर त्यसपछि सुर्खेततर्फ जाने निर्णय गर्यौं। त्यसपछि हामी पुष्पलाल लोकमार्ग हुँदै दैलेख तिर अघि बढ्यौं।
त्यो लोकमार्ग भने भर्खरै कालोपत्रे गरिएको रहेछ। गाडीको गति बढाउँदै हामी अगाडि बढ्यौं। बाटो एकदमै सानदार थियो र यात्रामा अरू गाडीहरू पनि कम मात्र देखिन्थे।
पहाडी जंगलको राजमार्ग अत्यन्तै सुन्दर देखिन्थ्यो। हावाले उडाएर ल्याएका रंगीविरंगी रुखका पातहरूले बाटो झन् रोमाञ्चक बनाइरहेका थिए।



यसरी हामी एउटा खुला ठाउँमा आफूहरू सँग भएका खानेकुरा निकालेर खान बस्यौँ। मेरो खाने बानीचाहिँ अलि ढिलो र जहिले पनि पछि पर्ने। बिस्तारै खाँदा जुनसुकै खाने कुरा पनि स्वादिलो लाग्छ मलाई! यसरी केही समय आराम पनि महसुस भयो र खान सकिएपछि हामी सिधै दैलेखको पेट्रोल उत्खनन् गर्ने स्थानतिर ओरालो लाग्यौँ। बिहान करिब ११:५८ बजे हामी त्यहाँ पुग्यौँ। त्यहाँ पुग्दा मेरा अग्रजहरूले सो खानीका बारेमा एकजना सशस्त्र प्रहरीसँग जानकारी लिनुभयो, जो उक्त स्थानको सुरक्षा गर्दै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, "अहिले यो खानी बन्द छ। थप अनुसन्धानका लागि यहाँबाट केही पेट्रोलका नमूना चिनियाँ कम्पनीले लगेकाे छ, त्यसमा कति प्रतिशत पेट्रोल छ र उत्खनन् गर्न लायक छ कि छैन भन्नेबारे अहिलेसम्म कुनै ठोस तथ्य आएको छैन।"
केही समयको अवलोकनपछि हामी फेरि ओरालो लाग्यौँ र त्यसपछि श्रीस्थान मन्दिरको दर्शन गर्न गयौँ। त्यो मन्दिर दैलेखको प्रसिद्ध मन्दिरहरूमध्ये एक हो, जहाँ हामीले ज्वालाघरहरूमा निरन्तर बलिरहने आगो देख्यौँ, जुन पानीमाथि नै देखिन्छ। एकजना पूजारीले हामीलाई यसबारे जानकारी दिनुभयो। धार्मिक मान्यताअनुसार, यो ज्वाला दैवी शक्ति हो भने वैज्ञानिक दृष्टिकोणले यहाँ पेट्रोलियम ग्यासको भण्डार रहेको अनुमान गरिएको छ।
त्यस धार्मिक स्थलबाट हामी सिधै उकालो लाग्यौँ र दैलेखको सदरमुकाम नारायण नगरपालिकामा पुग्यौँ, जुन दैलेख बजारको रूपमा पनि चिनिन्छ। त्यो कर्णाली प्रदेशअन्तर्गत पर्ने दैलेख जिल्लाको प्रशासनिक केन्द्र हो। करिब दिउँसोको सवा एक बजिसकेको थियो, र हामी खाना खान दैलेख बजारस्थित एउटा होटेलमा बस्यौँ। त्यस समयमा हामीले घरमा फोन कल लगायौँ र भन्यौँ, "अहिले हामी दैलेख बजारमा खाना खान लागेका छौँ, त्यसपछि हामी सुर्खेत जानेछौँ।"
यसरी खाना खाइसकेपछि हामी सिधै सुर्खेततिर ओरालो लाग्यौँ। ओरालो झर्दा राष्ट्रिय फूल, लालीगुराँस, ढकमक्क फुलेको दृश्यले हाम्रो मन लोभ्यायो। त्यस रुखमा फुलेका सुनगाभाहरूले दृश्यलाई अझ रोमाञ्चक बनायो, किनभने सुनगाभा मेरो मन पर्ने फूलहरू मध्येको एक हो। मेरो घरमा पनि त्यस फूलका विभिन्न प्रजातिहरु छन्। केही बेर गाडीबाट ओर्लेर हामीले त्यस सुनगाभाको तस्बिरहरू कैद गर्यौँ। त्यसपछि भने गाडीबाट सिधै सुर्खेततिर ओर्लियौँ। करिब पौने पाँच बजेतिर हामी सुर्खेत पुग्यौँ र होटल खोजेर बस्यौँ। नुहाईधुवाई गरेर अलि आराम गरेपछि हामी सुर्खेत घुम्न निस्किने निर्णय गर्यौँ।
म र ठूलो बुबा भने चिया पिउन एउटा पसलमा गयौँ। अरू साथीहरू भने बुलबुले ताल घुम्न गएका रहेछन्। पछि हामी पनि बुलबुले तालतिर गयौँ र केही समय घुम्यौँ। त्यसपछि फेरी होटल फर्कियौँ। केही कुराकानी गर्दै हामी आराम गर्न बस्यौँ। यसरी हामीले रातिको खाना खाएर सुत्न गयौँ।

छैठो दिन
राति कुराकानी भएअनुसार, हामीले बिहान चिया खाएर सुर्खेतको प्रख्यात स्थल काक्रे विहार घुम्ने निर्णय गर्यौँ। हाम्रो होटलबाट करिब १०-१५ मिनेट पूर्वमा रहेको त्यो विहार लुम्बिनीपछिकाे पुरानो विहारहरु मध्ये एक हो जसको निर्माण १२औं शताब्दीमा भएको मानिन्छ। त्यो मन्दिर शिखर शैलीमा निर्मित छ र त्यहाँ हिन्दू र बौद्ध धर्मका विभिन्न तत्वहरूको समन्वय पाइन्छ। काक्रे विहारको शिल्पकलामा बुद्धको जीवनका दृश्य, देवी-देवताका मूर्तिहरू जस्तै तारा, जम्बाला र गणेशका शिल्प उत्कीर्ण छन्। त्यसको ऐतिहासिक महत्त्व र सांस्कृतिक धरोहरले त्यसलाई सुर्खेत जिल्लाको प्रमुख धार्मिक गन्तव्य बनाएको छ। काक्रे विहारको पुनर्निर्माण कार्य २०७९ मा सम्पन्न भएको रहेछ, जसले त्यसलाई अझ आकर्षक र ऐतिहासिक रूपमा महत्त्वपूर्ण बनाएको छ। त्यो स्थल बौद्ध र हिन्दू धर्मका अनुयायीहरूका लागि मात्र नभएर, सांस्कृतिक अध्ययन र धार्मिक सहिष्णुताको प्रतीकको रूपमा पनि महत्त्वपूर्ण मानिन्छ।



म र ठूलो बुबा मन्दिरको शान्त वातावरणमा प्रवेश गरी, ध्यान र श्रद्धासाथ बुद्ध शैलीमा आराधना गर्यौं। मन्दिरको चारों दिशा परिक्रमा गर्दै, "बुद्धम् शरणम् गच्छामि" भन्दै तीन चक्कर लगाउनाले मनमा शान्ति र आन्तरिक सन्तुलन ल्यायो। त्यहाँको पवित्र वातावरणले हाम्रो हृदयलाई शुद्ध बनाउन मद्दत गर्यो र हामी त्यहाँबाट नयाँ ऊर्जा महसुस गर्दै अघि बढ्यौं, जहाँ हाम्रो साथीहरू उत्सुकतासाथ पर्खिरहेका थिए। 
काक्रे विहारको दर्शनपछि, हामी प्यूठानस्थित स्वर्गद्वारीको यात्रा सुरु गर्न उत्साहित थियौं। सुर्खेत बजारबाट केही टाढा पुग्दा, एक दोबाटोको पसलमा बिहानको नास्ता गर्दै, स्थानीय पसल मालिकले हामीलाई सजिलै र छिटो बाटोको सल्लाह दिए र नयाँ यात्रा सुरु गर्न प्रेरित गरे। नास्ता सकेर र पानीको एक केस किनेर, हामी त्यही देखाइएको मार्ग हुँदै प्यूठानको भव्यता र शान्तिका लागि मार्गक्रमण गर्दै अघि बढ्यौं।
यसरी हामी पहिला तुलसीपुर पुग्यौं, जहाँ बिहानको करिब ११:५० बजिसकेको थियो। त्यहाँ हामीले आरामसँग खाना खायौं र फेरि पहाडी जंगलको सुन्दर बाटो हुँदै रोल्पा जिल्ला प्रवेश गर्यौं। जंगलको शान्ति र हावाको ताजगीले हाम्रो यात्रा अझ रोमाञ्चक र रिफ्रेसिङ बनायो, र हामी अगाडि बढ्यौं।
यात्राको क्रममा दुबीडाँडाको एउटा उकालो घुम्तीमा हाम्रो गाडीले अकस्मात् समस्या देखायो। अन्जान ठाउँ, पहाडी बाटो, अनि एकछिनका लागि सिंगो यात्रा रोकिएझैं लाग्यो। समस्या समाधानको प्रयासमा हामीले अरू गाडीका चालकसँग सल्लाह लियौं, र उनीहरूले नजिकैको होलेरी भन्ने ठाउँको सुझाव दिए। सुझाएको बाटो समाउँदै होलेरी पुग्यौं, जहाँ मेकानिकले गाडी तुरुन्तै बनाई दिए। गाडी ठीक भएपछि धन्यवाद व्यक्त गर्दै, हामी पुनः स्वर्गद्वारीको मार्ग समात्यौं। सबैको मनमा एउटै कुरा थियो—"स्वर्गद्वारी पुग्दा साँझ पर्ला कि?"
स्वर्ग द्वारीको टुप्पो खोज्दै अन्ततः हामी करिब ५:३० बजे गन्तव्यमा पुग्यौँ। त्यहाँको शान्त वातावरणले थकाइ नै भुलायो। केही धूप र अगरबत्ती किनेर हामीले स्वर्गद्वारी डाँडातिरको पैदल यात्रा सुरु गर्यौं। उकालो चढ्दै गर्दा हावाको बेग यति तीव्र थियो कि कहिलेकाहीँ लाग्थ्यो—मानौँ हामी नै उड्लाजस्तो।
बीच बाटोमा हाम्रा एक साथीले सास फेर्न गाह्रो भएको बताएपछि, हामीले बिस्तारै अगाडि बढ्न आग्रह गर्यौँ। म, ठूलोबुबा, अनि हाम्रा अर्का साथी (उहाँलाई म पनि "ठूलोबुबा" भनेर सम्बोधन गर्छु) मिलेर एक-अर्कालाई साथ दिँदै मन्दिरतिर लाग्यौं।



अन्ततः मन्दिरको प्रांगणमा पुगेर त्यहाँको शीतल हावा र आध्यात्मिक शान्तिले हाम्रो सारा थकान मेटायो। प्रमुख मन्दिरमा रहेका एकजना पण्डितज्यूले हामीलाई स्वागत गर्दै भन्नुभयो, "यस पवित्र थलो—स्वर्गद्वारीको ऐतिहासिक र धार्मिक महत्वबारे म केही सुनाउँछु।" 
उहाँले भन्नुभयो, "महाभारतका धर्मराज युधिष्ठिरले आफ्नो चार भाइ र द्रौपदीसँगै संसारिक मोह त्यागेर महाप्रस्थानको यात्रा सुरु गर्नुभएको थियो। कठिन हिमाली यात्रा क्रममा एकपछि अर्को गर्दै द्रौपदी, सहदेव, नकुल, अर्जुन र भीमले शरिर त्यागे। प्रत्येकको पतनका कारणहरू थिए — द्रौपदीको केही पक्षपात, नकुलको सौन्दर्य घमण्ड, अर्जुनको प्रतिज्ञाप्रतिको कमजोरी, भीमको भोजन लोभ आदिका कारण। यसरी युधिष्ठिर मात्र आफ्नो धर्म निष्ठाको कारण बाँच्छन्। यात्राको क्रममा, एउटा कुकुर पनि उनकै पछि लाग्छ, जुन अन्तिममा धर्मदेव (उनका पिता) को रूपमा परीक्षण गर्न आएको प्रकट हुन्छ। स्वर्गका दूतहरू युधिष्ठिरलाई बिना शरीर स्वर्ग जान प्रस्ताव गर्छन्, तर उनी त्यो कुकुरलाई नछोडी स्वर्ग जान अस्वीकार गर्छन्। धर्मदेवले उनको धर्मप्रेम र करुणाको परीक्षा सफल भएको घोषणा गर्छन् र उनलाई सजीव शरीरसहित स्वर्गारोहण गरिन्छ। यसरी पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ।"
करीब साँझको ६:३० बजे हामी स्वर्गद्वारीको दर्शनपछि सीधै भालुबाङमा बस्न जाने भनेर ओरालो लाग्यौँ। बाटो पिच भएकाले यात्रा सहज बन्यो। राति करिब ९:०० बजे हामी त्यहाँ पुग्यौँ। हतारमा होटल खोजेर बस्यौँ। सरसफाइ गरेर राति भए पनि चिया पिइर बस्यौँ र केही समयपछि खाना खायौँ। घरमा फोन गरेर भन्यौँ, "हामी भोलि चितवन पुग्छौँ र पर्सि मात्र घर पुग्छौँ।" यसरी त्यस दिनको लामो यात्रा पनि समापन भयो।


सातौँ दिन
सबैलाई घर जान हतार थियो र दाउनेको बिग्रिएको सडक खण्ड कसरी पार गर्ने भन्ने चिन्तासँगै हामी भालुबाङबाट बिहान सबेरै हाम्रो यात्रा सुरु गर्यौँ।
नभन्दै, हामी महेन्द्र राजमार्गबाट गाडी घुमाएर तौलिहवा–गोरुसिंगेको बाटो हुँदै तिलौराकोट, अर्थात् गौतम बुद्धको राजदरबार घुम्न गर्यौँ।
त्यो बाटो भने एकदमै शान्त थियो र अन्य गाडीहरूको चाप पनि कम। बाटोमा देखिएका बाँदरहरूलाई हामीसँग बाँकी रहेको खानेकुरा दिँदै हामी अघि बढ्यौँ।
यसरी बिहान करिब ९:१५ बजे हामी तिलौराकोट पुग्यौँ। त्यहाँ पुग्नासाथ हामीलाई एउटा बेग्लै अनुभूति भयाे—जस्तो कि समय आफैं रोकिएको होस्।
भुइँमा फिँजिएको पुरानो ईंटाको महक, मौनता भरेको वातावरण, र हल्का घामको स्पर्शले हामीलाई हजारौँ वर्ष पछाडि पुर्यो। सामुन्ने देखिन्थ्यो, त्यो ऐतिहासिक प्रवेशद्वार—जहाँबाट राजकुमार सिद्धार्थले "महाभिनिष्क्रमण" काे पहिलो पाइला चालिएको थियो। अर्थात् बुद्धले २९ वर्षको उमेरमा राजसी जीवन, परिवार र सम्पूर्ण विलासिता त्यागेर सत्य र मोक्षको खोजीमा त्यो ऐतिहासिक यात्रा गरेको थियो।
त्यहीँ उभिँदै गर्दा हामीले कल्पना गर्यौं—२९ वर्षको एउटा राजकुमार, जसका सामु सारा संसारको ऐश्वर्य छरिएको थियो, तर उनले त्यसलाई त्यागेर सत्यको खोजीमा निस्कन मन थाम्न सकेनन्।
"के त्यही रात थियो? के यस्तै हावा बहिरहेको थियो? के यस्तै मौन र गम्भीर आँखाले राजकुमार सिद्धार्थले अन्तिमपटक राजदरबार हेरेका थिए?"



त्यस सोचसँगै हामी चुपचाप मन शुद्ध पार्दै उभिएका थियौँ। म र ठूलोबुबा भने केही समयका लागि आँखा बन्द गर्दै ध्यानमा बसेका थियौँ, जस्तै त्यो पुरानो कालसँग आफैँलाई जोडिएको जस्तो लागिरहेको थियो। न शब्द थियो, न आवाज—भित्रभित्रै मात्र एउटा गहिरो तरङ्ग बगिरहेको महसुस गरिरहेका थियौँ।
त्यही क्षण हामीले अनुभूति गरेका थियौँ—बुद्धले छोएको त्यो भूमि आज पनि आफ्नै ऊर्जा बोकेर बगिरहेको छ।
त्यहाँ पुगेर कसैले आग्रह गरेर होइन, आफ्नै मनले बोलाए जस्तो लागेर हामी ध्यानमा बस्यौँ। त्यो अनुभूति शब्दमा बाँध्न सकिने थिएन—तर त्यो पल भने गहिरिएर हाम्रो भित्र कतै गडेर बसेको थियो।
राजदरबारको परिक्रमा सकेपछि हामी फेरि लुम्बिनी जाने बाटो समातेका थियौँ तर मन भने अझै पनि तिलौराकोटको मौनता भित्र कतै हराइरहेको थियो। यसरी लुम्बिनीलाई भने हामीले परै बाट नमस्कार गरौँ। 
गाडीको एसी चलाउँदै, हामी सिद्धार्थ राजमार्ग हुँदै अघि बढ्यौँ। बर्दघाट पुगेर भोकले थकाइँ पनि थपिएकोले, त्यहाँको एउटा होटलमा रोकिएर खाना खायौँ। त्यसपछि फेरि यात्रा थाल्यौँ, तर दाउन्नेमा जाममा पर्‍यौँ। गाडीका लामो लाइन कसरी छिटो पार गर्ने भन्ने चिन्ता हामी सबैको अनुहारमा देखिन्थ्यो। धैर्य गर्दै र गाडीहरूलाई जस्तै गरी आफैँलाई पनि अघि बढाउँदै, अन्ततः त्यो सडक खण्ड पार गर्‍यौँ।
साँझको करिब ६:३० बजे तिर हामी चितवन पुगेका थियौँ। थकाइले जिउ चुपचाप भएर आयो, तर मन भने चितवन आइपुगेको खुसीले हलुका भएको महसुस भयो। हामीले नदी किनारको एउटा होटल खोज्यौँ, तर त्यहाँ भीड धेरै भएकाले अर्को विकल्प रोज्नुपर्ने भयो। त्यसपछि हामी नारायणी नदी पार गरेर अर्को होटलतर्फ लाग्यौँ।
चितवन आइपुगेपछि हामीलाई घरकै न्यानोपन महसुस भएको थियो। हाम्रा एक साथी—जसलाई म 'मामा' भनेर सम्बोधन गर्छु—उहाँले हाम्रो बसाइँ र खानपानको सबै व्यवस्था मिलाइदिनुभयो।
पहिले हामीलाई साँझको नास्ता र मिठासँग पकाएको खाना खुवाउनुभयो—नारायणी नदीको ताजा माछा र त्यहाँको स्वादिलो भातले हाम्रो थकाइ बिस्तारै हराउँदै गयो।
त्यसपछि मामाले अर्को होटलमा हाम्रो बसाइँको व्यवस्था मिलाउनुभयो। हामी नुहाइधुवाइ गरेर चुपचाप ओछ्यानमा पल्ट्यौँ। दिनभरको लामो यात्रा र थकाइले गर्दा केही बेरमै हामी निदाएका थियौँ।

अन्तिम दिन
राति हामी कुराकानी गर्दै बस्दा, चितवनको एउटा प्रख्यात मन्दिरको बारेमा कुरा गयौँ, जुन डाँडाको टुप्पोमा अवस्थित थियो। हामीले त्यहाँ जाने र दर्शन गर्ने निर्णय गर्यौँ। हामी ४ जना मन्दिर पुग्यौँ, अनि त्यहाँको शान्त वातावरण र गहिरो अनुभूति भित्र समाहित हुँदै हामीले नारायणी नदीको माछा, कोसेलीको रूपमा घर ल्याउने विचार गर्यौँ।




त्यसपछि, सबै एकै स्थानमा भेला भएर, पृथ्वी राजमार्ग नलिएर, कान्ति पथ लोकमार्ग हुँदै घर जाने निर्णय गरेका थियौँ। त्यो निर्णय पनि हामी सबैको मर्म र आत्मीयताको अनुकूल थियो।
यसरी, हामीले एक हप्ते जीवन्त यात्रालाई समापन गर्दै, अन्तिममा मकवानपुरको गडीको अवलोकन गर्यौँ।
हामी भट्टेडाँडामा आएर चियाको विश्राम लिएका थियौँ—साँझको छायामा चिया पिउँदै, ती सबै यात्रा र अनुभवको मिठास सँगै। करीब ७:०० बजे हामी चापागाउँ, अर्थात् हाम्रो घरमा पुगेका थियौँ।
यसरी हाम्रो यात्रा समाप्त भयो, तर त्यस यात्राले हामीलाई न्यानो र अनगिन्ती सम्झनाहरू दिए।

सारांश

यो यात्राले थकाइ मात्र होइन, आत्मा भित्रको गहिराइ पनि छुन सक्यो। पहाडका उतारचढावसँगै, मनका उतारचढाव पनि सम्हाल्दै अघि बढ्यौं। हामी घर फर्कियौंतर फर्कँदा हामीसँग केवल सम्झनाहरू थिएनन्, एउटा नयाँ दृष्टिकोण पनि थियोजीवनप्रतिको, प्रकृतिप्रतिको, आफैँप्रतिको।

यो यात्रा सम्झँदा थाहा हुन्छकसरी कुनै एउटा यात्राले केवल भौगोलिक दूरी पार गराउँछ, तर हृदय आत्माको यात्रालाई पनि गहिरो बनाइदिन्छ।






Comments

Popular posts from this blog

Rolwaling Valley Trek

Aspiring climbers, seeking adventures and opportunities to test their strength and skill, attempt to penetrate the Himalayan wilderness and push their limits to reach the summits. However, the grandest excursion of all to be made hereabouts is to the heart of the Himalayas, covered with icy crowns. Those towering peaks laden with glaciers that are terribly roughened and interrupted by crevasses and ice cliffs are very high, which render comparisons with our own height meaningless. Only good climbers should attempt to gain the summit, led by a sherpa of proven nerve and endurance. Well-established mountain, forest, and river trails wind down the mighty Tamakoshi River to the place where our trek was for, Rolwaling Valley. © Bikesh Deshar Rolwaling, a remote mountain valley at an altitude of 4000 meters, lies northeast of Kathmandu, near the Tibetan border and to the west of the Khumbu region.  The Rolwaling Valley in the Gaurisankar Conservation Area stands as a tribute to the maje...

Soloing Manaslu, The Beast

Manaslu, it's beauty and desolation with the blessings and dangers to test the endurance and skills of adventurous climbers; but far better than climbing the killer mountain of the world, is going around its warm, fertile base, enjoying it's bounties like a bee circling around a bank of flowers. The distance is about a hundred miles and so, and will take some of the time, we hear so much about- a week or two- but the benefits will compensate for any number of weeks. Perhaps the profession of doing good may be full, everybody should be kind at least to himself. Take a good course of water and air, and in the eternal youth of Nature, you may renew your own. Go quietly, alone; no harm will befall you. Some have strange, morbid fears as soon as they find themselves with Nature, even in the kindest and wildest of her solitudes, like very sick children afraid of their mother—as if God were dead and the devil were king. Day 1. With the feeling of being into the wild nature for a while...

Set Free in The Wild

Set Free in The Wild 1. Each day seems so happy If we live our life full of wonder. And here I am with an urge To pack my backpacks and hit the bleary trails. Through patience which I built with time And lavishly grown inside my heart To be set free in the wild. 8. Nature is always an unerring cradle of inspiration. However, I was compelled and waited too long indoors. With an audacious call, I now breakdown the walls. Filtering my thoughts and emotions----- I put my boots on and shed my old skin too To walk away from the neonside of the asphalt jungle And just to be set free in the wild. 15. To know how it feels; "To be set free in the wild" I follow the sunlight as it falls on hills and meadows. I lie on the moors, gaze up the sky and say: Let my mind expand into its commodious, Let an infinite sky awake a sky inside my mind. I sit right by the river and mingle with its ceaseless flow. Moreover, I stand by the waterfall to purify my soul with its hea...